काठमाडौ । कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारण कम्युनिष्ट आन्दोलन तिब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे । उनले अहिलेको अवस्थामा इमान्दार क्रान्तिकारीहरुले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए । तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल समेत गरे ।
महासचिव भुसालले आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई आग्रह समेत गरे । त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनको भनाइ छ । महासचिव भुसालले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापित नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको बताए । उनले अहिलेको अवस्थामा पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर समेत गरे ।
