काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।
वार्तामा कृषि मन्त्री रामनाथ अधिकारीले केहि दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर, आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो । वार्तामा आफूहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने अडान राखेको प्रवक्ता यादवले बताए ।
प्रवक्ता यादवले कृषि मन्त्रालयको वार्षिक बजेटमा नै २ अर्व रुपैयाँ उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए । उनले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने पनि जानकारी दिए ।
उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशैँ अघि नै अर्को ७५ करोड पनि निकासा गर्नुपर्ने बटमलाइन रहेको उनको भनाइ छ ।