समाज

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । 

प्रदेशसभामा मंगलबार भएको मत विभाजनमा बानियाँले नेपाली कांग्रेसका ३६ र नेकपा एमालेका २७ गरी कूल ६३ मत प्राप्त गर्दा विपक्षमा २२ मत परेको हो । 

प्रदेशसभामा रहेको कुल ११० सदस्यमध्ये सरकार गठनका लागि ५६ मत आवश्यक पर्दछ । प्रदेशसभा बैठकमा उनले संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । 

प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका २२ सांसदले मतदान गरेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने विश्वासको मतमा तटस्थ रहेको थियो । 

बैठकमा जम्मा ९२ सांसद उपस्थित भएका थिए । विश्वासको मत लिनु अघि विभिन्न दलका सांसदहरुले आफ्नो दलीय धारणा बैठकमा राखेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *