काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा कृत्रिम बुद्धिमता (एआई) को उपयोगबारे अध्ययन भइरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।
सभामुख घिमिरेले एआईको प्रयोगले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने बताए । सभामुख घिमिरेले नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको बताए ।
उनले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआईको प्रयोग गर्नुपर्नेमा जोड पनि दिए ।