महोत्तरी । पूर्वपश्चिम रेलमार्गको काम रोकिँदा हालसम्म बनेको संरचनाहरु जीर्ण हुन थालेका छन् ।
नेपाल रेल विभागले लामो समयदेखि प्रारम्भिक अधिकारी नियुक्त नगर्दा राष्ट्रिय गौरवको पूर्वपश्चिम रेलमार्ग योजना अलपत्र परेको हो ।
प्रारम्भिक अधिकारी नहुँदा रेलमार्गका सबै काम ठप्प हुँदा बनेका संरचनाहरु समेत जिर्ण बन्दै गएका हुन् । करिब २० अर्ब रुपैयाँ खर्च गरेर ५ वर्षअघि तयार गरिएको रेल्वे ट्रयाक र रेल पुल सञ्चालनमा आउनुअघि नै जीर्ण बनेको छ ।
रेल्वेको ट्रयाक बेडमा झाडी उम्रिएको छ । रेल पुलका रेलिङ तथा डक्ट कभर चोरी भइरहेको छ भने केही नष्ट भएका छन् । विभागमा कार्यरत एक मात्र प्रारम्भिक अधिकारी विनोद ओझा दुई महिनाअघि अवकाशमा गएपछि अर्को अधिकारी नियुक्त गरिएको छैन ।
प्रारम्भिक अधिकारी नहुँदा विभागले अधिग्रहण गरेको जग्गा प्राप्ति तथा सूचना प्रकाशनका काम पनि रोकिएको छ । महोत्तरीको बर्दिवास र भंगहाका जग्गाधनीले मुआब्जा वितरणमा विभेद भएको भन्दै लामो समयदेखि आन्दोलन गरेपनि अहिले सम्म मुआब्जा पाउन सकेका छैनन् ।