समाज

ओभरलोडका कारण सडक संरचना बिग्रिएपछि रुपन्देहीमा भारतीय ट्रकको भारमिलानमा कडाइ

ओभरलोडका कारण सडक संरचना बिग्रिएपछि रुपन्देहीमा भारतीय ट्रकको भारमिलानमा कडाइ

रुपन्देही । भारतबाट नेपाल प्रवेश गरेका ओभरलोड मालवाहक सवारी साधनका कारण नेपालका सडक संरचनाहरु बिग्रिदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता ओभरलोड रहेका मालवाहक सवारी साधनहरुले भन्सार विन्दुमै भारमिलान गरि मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । 

भारतीय गाडीलाई ओभरलोड छुट दिँदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो । 

ट्रक व्यवसायीको माग मात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनका कारण बुटवल–नारायणगढ सडक खण्डका २ वटा पुलमा क्षति पुगेको छ भने भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक खण्ड पनि क्षति भएर पटक पटक मरम्मत गरिदै आएको छ । 

यी सबै समस्याहरुलाई नै हेरेर भारमिलान सम्बन्धि कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरि निर्णय गरिएको प्रशासनको भनाइ छ । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । 

९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय रुपैयाँ जरिवाना लिएर मात्र नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *