एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले हमासको अन्त्य र बन्धकहरूको रिहाई नगरिँदासम्म गाजामा शान्ति सम्भव नरहेको बताएका छन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको पत्रकार सम्मेलनमा इजरायलप्रति अमेरिकी समर्थन दोहार्याउदै हमासको अन्त्यमा जोड दिएका हुन् । प्यालेस्टिनी राज्यलाई मान्यता दिने प्रयासले युद्ध अन्त्यलाई झन् कठिन बनाउने पनि विदेशमन्त्री रुवियोको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायत, फ्रान्स, बेल्जियमलगायतका मुलुकहरूले इजरायलले गाजा युद्ध अन्त्य नगरे प्यालेस्टाइनलाई मान्यता दिने बताउँदै आएका छन् । विदेशमन्त्री रूबियोले इजरायल–हमास युद्धविराम सम्झौताका लागि निरन्तर रूपमा रचनात्मक भूमिका खेल्न पनि कतारलाई आग्रह गरे । रूबियो कतारको भ्रमणपछि इजरायल पुगेका हुन् ।
यसैबीच, इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभीरले पनि गाजा स्ट्रीपलाई पूर्ण नियन्त्रणमा राख्दै त्यहाँ पुलिस डिस्ट्रिक्ट स्थापना गर्ने बताएका छन । सेनाले आफ्नो मिसन पूरा गर्ने विश्वास गरिएको उल्लेख गर्दै उनले गाजाको समुद्र किनारामा प्रहरी क्षेत्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।
