डोटी । डोटीको जोरायलमा सुदूरपश्चिम प्रदेशको प्रसिद्ध जोरायली बासमती धानको व्यवसायिक उत्पादन अघि बढाएको छ ।
२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जोरायल गाउँपालिकाले जिजीकोटमा विशेष कार्यक्रम गरी बासमती धान रोपिएको हो ।
रैथाने बालीका रूपमा प्रसिद्ध जोरायली बासमती चामल स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण राष्ट्रिय पहिचान बनाउँदै आएको छ । बासमती धानको ब्रान्डिङ सुदूरपश्चिममा मात्र होइन, राष्ट्रिय स्तरमै गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ ।
जोरायल गाउँपालिकाले बासमती धानको बीउ संरक्षण, खेती विस्तार, उत्पादित धानको बजारीकरण र प्राविधिक सहयोगमा किसानलाई सहयोग गर्दै आएको छ । जोरायलमा रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेललगायतका स्थानमा जोरायली बासमती धान खेती गरिन्छ ।
उक्त चामलबाट पाक्दा सुगन्धित भात तयार हुने तथा अन्य परिकार पनि स्वादिलो बन्ने भएकाले यसको माग उच्च रहेको छ ।