काठमाडौं । लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको सहमतिको समाजवादी मोर्चाले आपत्ति जनाउँदै विरोध गरेको छ ।
मोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको उल्लेख गरेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले भारतले मिचेको भूमि फिर्ता ल्याउन आग्रह समेत गरेको छ ।
मोर्चाले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान गरेको हो ।
भारत र चीनले भदौ ३ गते नयाँ दिल्लीमा नेपाली भूमि लिपुलेक पासबाट व्यापार पुनः सुचारु गर्ने सहमति गरेका थिए । सहमतिको नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।