काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव पनि दिएका छन् । कोईरालाले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने उल्लेख गरे । कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएकोबारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै आपत्ति जनाए ।
कोइरालाले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नगएको आरोप लगाए । कोईरालाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाँै भन्दै प्रश्न गर्नुभयो ।
सांसद कोईरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताए । सांसद कोईरालाले कांग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताए । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने बताए ।