काठमाडौं । केही दशकअघिसम्म नेपालको सञ्चार संसार सीमित माध्यममा केन्द्रित थियो। समाचारपत्रले समाचार छाप्थे, रेडियोले समाचार सुनाउँथे र दूरदर्शनले समाचार देखाउँथ्यो। समाचार उत्पादन गर्ने संस्था थोरै थिए, तर ती माध्यमबाट सूचना प्राप्त गर्ने नागरिकको संख्या ठूलो थियो।
त्यतिबेला सूचना प्रवाहको संरचना मूलतः थोरैबाट धेरै मानिसतर्फ जाने थियो। एउटा समाचारपत्रमा प्रकाशित समाचार हजारौँ पाठकसम्म पुग्थ्यो। रेडियोको समाचारले ठूलो सङ्ख्यामा श्रोतासम्म पहुँच बनाउँथ्यो। दूरदर्शनको समाचार बुलेटिनले एकैपटक ठूलो सङ्ख्यामा दर्शकलाई सूचना उपलब्ध गराउँथ्यो। तर सामाजिक सञ्जालको विस्तारसँगै नेपालको सूचना संसारको पुरानो संरचना तीव्र गतिमा परिवर्तन भएको छ।
आज हातमा दूरभाष, त्यसमा तस्वीर तथा चलचित्र खिच्ने सुविधा र जालविन्यास अर्थात् इन्टरनेटको पहुँच भएको सामान्य नागरिकले कुनै घटना देख्नेबित्तिकै तस्वीर खिच्न, चलचित्र बनाउन, आफ्नो धारणा लेख्न र केही क्षणमै हजारौँ मानिससम्म पु-याउन सक्छ। हिजो सूचना सार्वजनिक गर्न समाचार संस्थाको ढोका पुग्नुपथ्र्यो। आज सूचना नागरिकको हातबाटै सार्वजनिक हुन सक्छ।
यसले सञ्चारको पहुँचलाई फराकिलो बनाएको छ। तर यही परिवर्तनले अर्को महत्वपूर्ण प्रश्न पनि जन्माएको छ । सूचना सबैको हातमा पुगेपछि त्यसलाई सत्य र असत्यबीच कसरी छुट्याउने ?
सूचना उत्पादनको शक्ति नागरिकको हातमा
सामाजिक सञ्जालले सञ्चारको पुरानो संरचनामा सबैभन्दा ठूलो परिवर्तन ल्याएको पक्ष हो-सूचना उत्पादन र वितरणको शक्ति विकेन्द्रीकरण। पहिले समाचार उत्पादन गर्न समाचार संस्था, पत्रकार, सम्पादक तथा प्रकाशन वा प्रसारणको संरचना आवश्यक पथ्र्यो। अहिले एउटा दूरभाष नै सूचना उत्पादन, सम्पादन र वितरणको माध्यम बन्न सक्छ।
नेपालमा सामाजिक सञ्जालको पहुँच पनि निकै विस्तार भइसकेको छ। सन् २०२५ को अन्त्यतिरसम्म नेपालमा करिब १ करोड ६६ लाख मानिस जालविन्याससँग जोडिएको र करिब १ करोड ४८ लाख सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान रहेको विभिन्न तथ्याङ्कले देखाएका छन्। यसले एउटा महत्वपूर्ण परिवर्तन देखाउँछ।
सामाजिक सञ्जाल अब मनोरञ्जन वा व्यक्तिगत सम्पर्कको माध्यम मात्र रहेन। यो समाचार प्राप्त गर्ने, समाचार बनाउने, विचार व्यक्त गर्ने र सार्वजनिक बहस निर्माण गर्ने महत्वपूर्ण माध्यम बनेको छ। तर सूचना उत्पादन गर्ने शक्ति नागरिकको हातमा पुग्नु र विश्वसनीय सूचना प्राप्त हुनु एउटै कुरा होइन।
सम्पादकको ठाउँमा नयाँ द्वारपाल
परम्परागत सञ्चार माध्यममा सम्पादकलाई सूचनाको महत्वपूर्ण द्वारपाल मानिन्थ्यो। कुन समाचार प्रकाशित गर्ने ? कुन समाचारलाई मुख्य शीर्षक बनाउने ? कुन विषयलाई प्राथमिकता दिने ? कुन समाचारलाई कति स्थान दिने ? दूरदर्शनको मुख्य समाचारमा कुन विषय राख्ने ? यी निर्णय सम्पादकीय कक्षमा हुन्थे ।
सामाजिक सञ्जालले यो पुरानो संरचना कमजोर बनायो। तर सूचनाको द्वारपाल पूर्ण रूपमा हराएको भने छैन। उसको स्वरूप मात्र परिवर्तन भएको छ। आज प्रयोगकर्ताको दूरभाषमा कुन सामग्री देखिन्छ भन्ने कुरामा सामाजिक सञ्जालका स्वचालित छनोट प्रणालीको ठूलो भूमिका हुन्छ।
कुन सामग्रीमा मानिस धेरै समय रोकियो? कुन चलचित्र धेरैपटक हेरियो? कुन सामग्रीमा धेरै प्रतिक्रिया आयो? कुन विषय धेरैले बाँडे? कुन सामग्रीले मानिसलाई फेरि सामाजिक सञ्जालमा फर्कायो? यस्ता व्यवहारका आधारमा सामाजिक सञ्जालले प्रयोगकर्तालाई देखाउने सामग्रीको छनोट गर्न सक्छ। यसरी आजको सूचना संसारमा परम्परागत सम्पादकसँगै सामाजिक सञ्जालको स्वचालित छनोट प्रणाली पनि महत्वपूर्ण शक्ति बनेको छ।
एउटै घटना, फरक-फरक सूचना संसार
यसको परिणाम निकै रोचक छ। एउटै देशमा बसेका दुई व्यक्तिले एउटै सामाजिक सञ्जाल चलाउँदा पनि उनीहरूको दूरभाषको पर्दामा देखिने समाचार र विषयवस्तु फरक हुन सक्छ। एउटाले राजनीतिक बहस धेरै देख्न सक्छ भने अर्काले मनोरञ्जनका सामग्री धेरै देख्न सक्छ। कसैले आर्थिक विषयका समाचार धेरै पाउन सक्छ भने कसैले खेलकुदसम्बन्धी सामग्री।
कुनै व्यक्तिले आफूलाई रुचि लागेको विषयमा धेरै सामग्री हेर्दै गएमा त्यस्तै विषयसँग मिल्ने सामग्री उसको पर्दामा अझ धेरै आउन सक्छ। यसरी सामाजिक सञ्जालले मानिसको अगाडि एउटा व्यक्तिगत सूचना संसार निर्माण गर्न सक्छ। समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब प्रयोगकर्ताले आफ्नो पर्दामा देखिएको संसारलाई नै सम्पूर्ण वास्तविकता ठान्न थाल्छ।
“मैले देखेको कुरा नै सबैले देखेका छन्।” “मैले सुनेको कुरा नै सबैको धारणा हो।” “मेरो सामाजिक सञ्जालमा यही विषय धेरै छ, त्यसैले यही नै अहिलेको सबैभन्दा ठूलो विषय हो।” तर सामाजिक सञ्जालमा धेरै देखिनु र समाजमा त्यही विषयको वास्तविक महत्व समान हुनु आवश्यक छैन।
भाइरल हुनु र सत्य हुनु फरक कुरा
सामाजिक सञ्जालको सबैभन्दा महत्वपूर्ण विशेषता हो-तीव्र प्रसार। तर तीव्र प्रसारलाई सत्यताको प्रमाण मान्न सकिँदैन। धेरैले हेरेको सामग्री सत्य हुनैपर्छ भन्ने छैन। धेरैले बाँडेको सामग्री विश्वसनीय हुनैपर्छ भन्ने छैन। धेरै प्रतिक्रिया आएको सामग्री सार्वजनिक हितमा सबैभन्दा महत्वपूर्ण हुनैपर्छ भन्ने छैन। र धेरै मानिससम्म पुगेको सामग्रीले सम्पूर्ण घटनाको प्रतिनिधित्व गर्छ भन्ने पनि छैन।
कल्पना गरौँ, कुनै ठाउँमा हजारौँ मानिस सहभागी भएको ठूलो प्रदर्शन भइरहेको छ। प्रदर्शनको अधिकांश हिस्सा शान्तिपूर्ण छ। तर त्यही क्रममा भएको केही सेकेन्डको झडप कसैले दूरभाषमा खिच्छ। त्यो चलचित्रमा उत्तेजक शीर्षक राखिन्छ। मानिसहरूले प्रतिक्रिया दिन्छन्। धेरैले साझा गर्छन्। त्यसपछि सामाजिक सञ्जालको स्वचालित प्रणालीले पनि त्यसलाई थप प्रयोगकर्तासम्म पु-याउन सक्छ।
केही घण्टापछि सामाजिक सञ्जालमा उक्त प्रदर्शनको परिचय नै त्यही केही सेकेन्डको चलचित्र बन्न सक्छ। यहाँ चलचित्र झूटो हुनु आवश्यक छैन। झडप पनि वास्तविक हुन सक्छ। तर वास्तविक घटनाको एउटा सानो अंशले सम्पूर्ण घटनाको प्रतिनिधित्व गर्न थालेपछि सत्य अपूर्ण हुन सक्छ।
यहीँ पत्रकारिता र सामाजिक सञ्जाल सामग्रीबीचको महत्वपूर्ण अन्तर देखिन्छ। सामाजिक सञ्जालले ध्यान तान्ने सामग्रीलाई तीव्र गतिमा फैलाउन सक्छ। पत्रकारिताले भने घटनाको सम्पूर्ण सन्दर्भ, प्रमाण, पक्ष र प्रभाव खोज्नुपर्ने जिम्मेवारी बोक्छ।
पुरानो तस्वीर, नयाँ घटना
गलत सूचना फैलिने समस्या नयाँ होइन। तर सामाजिक सञ्जालले यसको गति र पहुँच निकै बढाइदिएको छ। पुरानो तस्वीरलाई नयाँ घटनासँग जोडेर प्रस्तुत गर्ने, अर्को देशको चलचित्र नेपालमा भएको घटनाको भन्दै फैलाउने, कुनै व्यक्तिको पुरानो अभिव्यक्तिलाई नयाँ घटनासँग जोड्ने, तस्वीरसँग मिल्दोजुल्दो तर गलत विवरण राख्ने जस्ता अभ्यास सामाजिक सञ्जालमा देखिन सक्छन्।
तर भ्रामक सूचना भनेको केवल झूटो तस्वीर वा झूटो चलचित्र मात्र होइन। साँचो सामग्रीलाई गलत सन्दर्भमा प्रस्तुत गर्नु पनि भ्रामक सूचना हुन सक्छ। एउटा तस्वीर साँच्चैको हुन सक्छ। तर त्यो कहिले खिचिएको थियो? कहाँ खिचिएको थियो? त्यसअघि के भएको थियो? त्यसपछि के भयो? यी प्रश्नको उत्तर नखोजी तस्वीरलाई मात्र आधार बनाएर निष्कर्ष निकाल्दा वास्तविकताको एउटा टुक्रालाई सम्पूर्ण सत्य ठान्ने जोखिम हुन्छ।
एआईको झन् जटिल चुनौती
सूचना सत्यापनको चुनौती कृत्रिम बुद्धिमत्ताको विकाससँगै अझ जटिल बन्दै गएको छ। आज कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट वास्तविकजस्तो देखिने तस्वीर, आवाज र चलचित्र सिर्जना वा परिवर्तन गर्न सम्भव हुँदै गएको छ।
यसले एउटा पुरानो विश्वासलाई चुनौती दिएको छ । “आँखाले देखेको कुरा नै सत्य हो।” अब कुनै तस्वीर वा चलचित्र देखिनु मात्र त्यसको सत्यताको पर्याप्त प्रमाण नहुन सक्छ। त्यसैले कुनै सामग्री सामाजिक सञ्जालमा देख्दा केही आधारभूत प्रश्न आवश्यक हुन्छन्। यसको मूल स्रोत के हो?
यो सामग्री पहिलोपटक कहाँ प्रकाशित भएको थियो? तस्वीर वा चलचित्रको समय र स्थान मिल्छ? अन्य विश्वसनीय सञ्चारमाध्यमले पनि घटनाको पुष्टि गरेका छन् ? चलचित्र वा तस्वीरमा परिवर्तन गरिएको संकेत छ? सम्बन्धित व्यक्तिको आधिकारिक भनाइ के छ? यी प्रश्न अब पत्रकारका लागि मात्र आवश्यक छैनन्। सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक नागरिकका लागि आवश्यक भएका छन्।
विश्व आर्थिक मञ्चको सन् २०२५ को विश्वव्यापी जोखिमसम्बन्धी प्रतिवेदनले गलत सूचना र भ्रामक सूचनालाई निकट अवधिका प्रमुख विश्वव्यापी जोखिममध्ये अग्रस्थानमा राखेको थियो। कृत्रिम बुद्धिमत्ताका कारण ठूलो परिमाणमा भ्रामक सामग्री उत्पादन र फैलाउन सहज हुन सक्ने जोखिमसमेत प्रतिवेदनले औँल्याएको थियो। नेपालमा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यो विषय झन् महत्वपूर्ण बनेको छ।
कम महत्वका विषय नै धेरै फैलिने
सामाजिक सञ्जालले एउटा भ्रम जन्माउन सक्छ । धेरैले हेरेको कुरा नै महत्वपूर्ण हुन्छ । तर यस्तो हुँदैन । धेरैले हेर्नु र सत्य हुनु फरक कुरा हो । धेरैले बाँड्नु र सार्वजनिक हितमा हुनु फरक कुरा हो । धेरै प्रतिक्रिया आउनु र तथ्य बलियो हुनु फरक कुरा हो । धेरै मानिससम्म पुग्नु र विश्वसनीय हुनु फरक कुरा हो ।
कहिलेकाहीँ गम्भीर सार्वजनिक विषयभन्दा उत्तेजक, भावनात्मक वा मनोरञ्जनात्मक सामग्री धेरै फैलिन सक्छ । कुनै नीतिगत निर्णयको विस्तृत विवरणभन्दा त्यससँग जोडिएको विवादास्पद अभिव्यक्तिको छोटो चलचित्र धेरै फैलिन सक्छ । कुनै जटिल आर्थिक समस्याभन्दा त्यससँग जोडिएको एउटा भावनात्मक दृश्यले धेरै प्रतिक्रिया पाउन सक्छ।
त्यसैले पत्रकारितासामु रहेको चुनौती हो–समाजलाई आवश्यक सूचना र मानिसको ध्यान खिच्ने सूचना सधैँ एउटै हुँदैन। हामी आफूलाई मन पर्ने संसार मात्र हेरिरहेका छौँ ? सामाजिक सञ्जालको अर्को चुनौती हो—आफ्नै विचारसँग मिल्ने सामग्री बारम्बार देखिनु ।
कुनै व्यक्तिले एउटा विचारसँग मिल्ने सामग्री हेर्छ। त्यसपछि त्यस्तै अर्को सामग्री उसको पर्दामा आउन सक्छ। उसले त्यसमा प्रतिक्रिया जनाउँछ। फेरि त्यस्तै सामग्री देखिन सक्छ । समयसँगै उसको सूचना संसारमा एउटै प्रकारको दृष्टिकोणको उपस्थिति बढ्न सक्छ ।
सामान्य भाषामा यसलाई प्रतिध्वनि कक्ष भन्न सकिन्छ । त्यसपछि प्रयोगकर्तालाई लाग्न सक्छ– “सबैजना यही कुरा भनिरहेका छन्।” तर वास्तविक समाजमा त्यस्तो नहुन सक्छ । उसले देखिरहेको संसार सामाजिक सञ्जालको स्वचालित प्रणालीले उसको रुचि र विगतको व्यवहारअनुसार छनोट गरेको संसार हुन सक्छ । यसले फरक विचारबीचको संवाद कमजोर हुने, एकअर्कालाई बुझ्ने क्षमता घट्ने र मानिसले आफ्नै धारणालाई मात्र सत्य ठान्ने जोखिम बढाउन सक्छ ।
नेपालको पत्रकारितामा परेको प्रभाव
नेपालको पत्रकारिता अहिले महत्वपूर्ण संक्रमणको चरणमा छ । समाचारपत्र, रेडियो र दूरदर्शनको भूमिका अझै कायम छ। तर समाचार उपभोग गर्ने नागरिकको व्यवहार परिवर्तन भइरहेको छ । विशेषगरी युवा पुस्ता सामाजिक सञ्जाल, छोटो चलचित्र र विभिन्न विद्युतीय सामग्रीमार्फत समाचारसँग जोडिँदै गएको छ ।
विश्वका विभिन्न मुलुकमा सामाजिक सञ्जाल र चलचित्रमार्फत समाचार उपभोग गर्ने प्रवृत्ति बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । यस परिवर्तनले नेपाली समाचार संस्थासामु नयाँ चुनौती थपेको छ । अब समाचार उत्पादन गर्नु मात्र पर्याप्त छैन । समाचारलाई विश्वसनीय, सान्दर्भिक, छोटो समयमा बुझिने र विभिन्न माध्यममा उपयुक्त ढङ्गले प्रस्तुत गर्नुपर्ने आवश्यकता बढेको छ।
दूरदर्शनमा प्रसारित समाचार केही मिनेटमै सामाजिक सञ्जालमा छोटो चलचित्र बन्न सक्छ। समाचारको एउटा वाक्य शीर्षक बन्न सक्छ। त्यही शीर्षकको एउटा अंश छोटो सामग्री बन्न सक्छ। त्यस सामग्रीबाट फेरि अर्को बहस सुरु हुन सक्छ। अर्थात् एउटा समाचार अब एउटै सामग्रीमा सीमित छैन। यो विभिन्न माध्यममा पुनःप्रस्तुत हुने सामग्रीको श्रृंखला बनेको छ। तर माध्यम परिवर्तन भए पनि पत्रकारिताको मूल आधार परिवर्तन हुनु हुँदैन– तथ्य, प्रमाण, सन्दर्भ र उत्तरदायित्व ।
पत्रकारको भूमिका सकिएको होइन, बदलिएको हो
सामाजिक सञ्जालको विस्तारसँगै कहिलेकाहीँ प्रश्न उठ्छ, जब नागरिक आफैँ समाचार उत्पादन गर्न सक्छन् भने पत्रकारको आवश्यकता किन ? तर नागरिक पत्रकारिता र व्यावसायिक पत्रकारिताबीचको अन्तर यहीँ देखिन्छ ।
नागरिकले घटना देख्न सक्छ । तस्वीर खिच्न सक्छ । प्रत्यक्ष चलचित्र बनाउन सक्छ । घटना सार्वजनिक गर्न सक्छ। तर पत्रकारको काम त्यहाँ समाप्त हुँदैन। बरु त्यसपछि सुरु हुन्छ। पत्रकारले सोध्नुपर्छ– यो घटना किन भयो? यसको प्रमाण के हो? कसले पुष्टि गर्छ? कसको भनाइ छुटेको छ? यसको अघिल्लो सन्दर्भ के हो? यसको प्रभाव कसलाई पर्छ? घटनाको अर्को पक्ष के हो?
यही प्रश्नले सामाजिक सञ्जालमा देखिएको सामग्रीलाई समाचारमा रूपान्तरण गर्ने आधार तयार गर्छ । सूचना दिनु र समाचार बुझाउनु एउटै कुरा होइन । आज नागरिकलाई सूचना मात्र होइन, सन्दर्भसहितको विश्वसनीय सूचना आवश्यक छ ।
नागरिक पनि प्रकाशक
सामाजिक सञ्जाल युगको अर्को ठूलो परिवर्तन यही हो- नागरिक अब समाचारका पाठक मात्र छैनन् । उनीहरू समाचार बाँड्छन् । शीर्षक लेख्छन् । प्रतिक्रिया दिन्छन् । तस्वीर सार्वजनिक गर्छन् । चलचित्र बनाउँछन् । कुनै सामग्रीलाई व्यापक रूपमा फैलाउने प्रक्रियामा सहभागी हुन्छन् ।
यस अर्थमा प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ता केही हदसम्म प्रकाशक बनेको छ । र प्रकाशक बनेपछि सम्पादकीय जिम्मेवारीको एउटा हिस्सा पनि प्रयोगकर्ताकै काँधमा आउँछ । कुनै शीर्षक पढेर मात्र सामग्री सेयर गर्ने कि मूल सामग्री पनि पढ्ने ? तस्वीरको स्रोत जाँच्ने कि नजाँचीकन फैलाउने ? चलचित्रको समय र स्थान बुझ्ने कि केवल भावनाको आधारमा प्रतिक्रिया दिने ? यी साना निर्णयले ठूलो सूचना प्रभाव पार्न सक्छन् ।
सूचना सेयर गर्नुअघिका पाँच प्रश्न
सामाजिक सञ्जालमा कुनै महत्वपूर्ण सामग्री भेट्दा नागरिकले कम्तीमा पाँच प्रश्न सोध्ने बानी विकास गर्न सक्छन् । पहिलो-यो सूचना कहाँबाट आएको हो ? दोस्रो-यसको मूल स्रोत के हो ? तेस्रो-यसको प्रमाण के छ ? चौथो-यसको पूरा सन्दर्भ के हो ? पाँचौँ-मैले यो सामग्री बाँड्दा के कुरा अझ फैलाउँदैछु ?
यसमा अर्को एउटा प्रश्न पनि थप्न सकिन्छ, “मलाई यो सामग्री किन देखाइयो?” यी प्रश्नले सामाजिक सञ्जालको निष्क्रिय प्रयोगकर्तालाई सचेत सूचना प्रयोगकर्तामा बदल्न मद्दत गर्न सक्छन् ।
अब प्रश्न पनि बदलिएको छ । एक समय नागरिकले सोध्थे, “मिडियाले के देखायो ?” अब त्यसमा अर्को प्रश्न थपिएको छ, “सामाजिक सञ्जालले मलाई के देखायो ?” र त्यसपछि अझ महत्वपूर्ण प्रश्न आउँछ, “मैले के देखिनँ ?” किनकि हाम्रो दूरभाषको पर्दामा देखिएको कुरा मात्र सम्पूर्ण वास्तविकता होइन ।
हामीले नदेखेको पक्ष पनि वास्तविकताको महत्वपूर्ण हिस्सा हुन सक्छ । सामाजिक सञ्जालले नागरिकलाई आवाज दिएको छ। तर सबै आवाज बराबर सुनिन्छन् भन्ने सुनिश्चित गरेको छैन । सबैभन्दा धेरै सुनिएको आवाज सबैभन्दा सत्य हुन्छ भन्ने पनि छैन । सबैभन्दा धेरै बाँडिएको सामग्री सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने पनि छैन । र सबैभन्दा धेरै हेरिएको चलचित्रले सम्पूर्ण घटनाको प्रतिनिधित्व गर्छ भन्ने पनि छैन ।
सबैका लागि सञ्चार साक्षरता
यही कारणले आज सञ्चार साक्षरता पत्रकार र सञ्चारकर्मीका लागि मात्र आवश्यक विषय रहेन । यो प्रत्येक नागरिकका लागि आवश्यक विषय बनेको छ । सूचना खोज्नु पर्याप्त छैन । सूचना छान्न, जाँच्न, बुझ्न र जिम्मेवारीपूर्वक बाँड्न सक्ने क्षमता पनि आवश्यक छ ।
विशेषगरी विपद्, निर्वाचन, स्वास्थ्य, सुरक्षा वा सामाजिक तनावका समयमा गलत सूचनाले पार्न सक्ने प्रभाव अझ गम्भीर हुन सक्छ । त्यस्ता समयमा एउटा अपुष्ट सूचना केही मिनेटमै हजारौँ मानिससम्म पुग्न सक्छ । त्यसैले विद्युतीय युगमा नागरिकको जिम्मेवारी केवल सूचना उपभोग गर्नुमा सीमित छैन। आफूले सार्वजनिक गर्ने सामग्रीको प्रभावबारे पनि सोच्नुपर्ने अवस्था आएको छ ।
अझ धेरै प्रमाण, अझ धेरै सन्दर्भ
सामाजिक सञ्जालको विस्तारले पत्रकारितालाई कमजोर मात्र बनाएको छैन। यसले पत्रकारिताको वास्तविक मूल्य कहाँ छ भन्ने प्रश्न पनि थप स्पष्ट बनाएको छ । जब सूचना जताततै उपलब्ध हुन्छ, पत्रकारको मूल्य केवल सूचना उपलब्ध गराउनुमा सीमित रहँदैन ।
मूल्य थपिन्छ-सत्यापनमा । मूल्य थपिन्छ-सन्दर्भमा । मूल्य थपिन्छ-विभिन्न पक्ष सुन्नमा । मूल्य थपिन्छ-जटिल विषयलाई नागरिकले बुझ्ने भाषामा व्याख्या गर्नमा । र मूल्य थपिन्छ-गलत सूचना र अपुष्ट दाबीलाई प्रमाणका आधारमा परीक्षण गर्नमा ।
भोलिको पत्रकारिता सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गरेर मात्र अगाडि बढ्ने होइन। सामाजिक सञ्जालबाट आएका सूचनालाई परीक्षण गर्ने, आवश्यक सन्दर्भ थप्ने र नागरिकलाई प्रमाणमा आधारित सूचना उपलब्ध गराउने दिशामा अझ केन्द्रित हुनुपर्नेछ ।
सूचनाको बाढीमा सत्यको खोजी
सामाजिक सञ्जालले नेपालको सूचना संसारलाई पहिलेभन्दा धेरै खुला बनाएको छ । यसले सामान्य नागरिकलाई आवाज दिएको छ । दुर्गम क्षेत्रमा भएका घटना सार्वजनिक गर्ने अवसर दिएको छ । सार्वजनिक निकाय र शक्तिशाली व्यक्तिमाथि प्रश्न उठाउने नयाँ माध्यम दिएको छ ।
तर यही शक्तिसँगै गलत सूचना फैलाउने, घटनाको सन्दर्भ हराउने, भावनात्मक उत्तेजना बढाउने र समाजमा भ्रम सिर्जना गर्ने जोखिम पनि आएको छ । त्यसैले प्रश्न सामाजिक सञ्जाल राम्रो कि नराम्रो भन्ने मात्र होइन ।
हामी यसको प्रयोग कति जिम्मेवारीपूर्वक गर्छौँ ? आज हामी सबै केही हदसम्म प्रकाशक हौँ । त्यसैले हामी सबैले एउटा सानो सम्पादकको जिम्मेवारी पनि लिनुपर्ने भएको छ । भाइरल हुनु र सत्य हुनु फरक कुरा हो । देखिनु र बुझिनु फरक कुरा हो । धेरै सुनिनु र सही हुनु फरक कुरा हो ।