काठमाडौं । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम शुुरु भएको छ ।
आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम शुुरु भएको हो । आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
पूर्ण कार्यमा जान एक हप्ता लाग्ने बताइएको छ । जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । अहिले तत्कालको आवश्यकता सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा शुरु गर्न लागिएको हो ।
नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने बताइएको छ । सिंहदरबार परिसरमा निर्माण भएको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सञ्चालन गरिने छ । हालको गृह मन्त्रालय सिंहदरबार परिसरमै रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयमा सर्न लागेको छ ।
पहिले सामान्य प्रशासन मन्त्रालयको छुट्टै कार्यालय थियो । पछि संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयलाई गाभिएर बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुरानो स्थानीय विकास मन्त्रालयमा सारिएको थियो । त्यसपछि पुरानो सामान्य प्रशासन मन्त्रालयको भवन खाली भएको थियो। खाली भएको सोही भवनमा अहिले गृह मन्त्रालय सर्न लागेको हो ।
त्यसैगरी शिक्षा मन्त्रालय हाल सार्वजनिक खरिद अनुगमन कार्यालय रहेको केशरमहलमा सर्ने भएको छ । पहिले केशरमहलमै रहेको शिक्षा मन्त्रालयलाई पछि सिंहदरबारमा सारिएको थियो । हालको स्वास्थ्य मन्त्रालय मन्त्रालयकै पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयमा सार्ने भएको छ ।
रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनका अधिकांश कोठा जलेका छन् । जलनबाट बचेका केही कोठालाई पनि मन्त्रालयले प्रयोग गर्ने भएको छ । त्यस्तै हाल बबरमहलमा रहेको सडक विभागको मुख्य कार्यालय अब पाटनढोका चाकुपाटमा सर्ने भएको छ ।