सप्तरी । गत साउन २० गते प्रहरीको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका लालु प्रसाद यादवको मृत्यु प्रकरणमा संघर्ष समितिले भदौ ५ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रहरी बाहेकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
अनुसन्धानका लागि गठन गरिएको एसएसपी स्तरको समिति मान्य नहुने भन्दै समितिले गृहमन्त्रालय वा मधेस प्रदेश मन्त्रालयको सहसचिवको नेतृत्वको मात्र सर्वपक्षीय छानबिन समिति बनाउनुपर्ने माग राखेको संघर्ष समितले जनाएको छ ।
अवैध मदिरा नियन्त्रण गर्न गएका प्रहरीले जानिजानी खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका यादवलाई गोली हानेको स्थानीयको आरोप छ ।
सो घटनापछि उनका आफन्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि र संघर्ष समितिबीच सहमति भएको थियो ।
सहमति अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएपछि गठित प्रहरी संगठनकै एसएसपी स्तरको छानबिन समितिले निष्पक्ष छानविन नगर्ने संघर्ष समितिको आशंका छ ।