काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै खतिवडाले निजामती विधेयकमा उल्लेख कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।
उनले कुलिङ अफ पिरियड छानविन विशेष समितिले आफ्नो नाम उल्लेख नगरे पनि जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए । खतिवडाले विधेयक लेखनका क्रममा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटीमा आफ्नो कुनै संलग्नता नभएको दाबी समेत गरे ।
खतिवडाले निजामति विधयकमा आफ्नो कुनै स्वार्थ नरहेको र संवैधानिक संयन्त्रलाई निष्पक्ष, दर्बिलो र कसैले प्रश्न उठाउन नसक्ने संस्थाको रूपमा स्थापित गर्न चाहेको पनि बताए । उनले कुलिङ अफ पिरियड विपरित संशोधन प्रस्ताव राख्नुले कतै प्रतिवेदन लेखनकै क्रममा संलग्न कर्मचारीतन्त्रलाई प्रभावित पार्ने खेल त भएको छैन भनी आशंका उत्पन्न भएको पनि उल्लेख गरे ।