बागलुङ । बागलुङको काँठेखोला गाउँपालिका सात रेशमा रहेको ऐतिहासिक ओदानेश्वर मन्दिरमा धार्मिक पर्यटक बढेका छन् ।
बिक्रम सम्बत १६९० सालमा चट्याङ पर्दा आकाशबाट खसेको ओदान स्थानीयले संरक्षण गरि राखेका छन् । वाईसे चौविसे राज्य अन्तर्गत भूरे राजाका पालामा चटयाङ पर्ने क्रममा त्यस क्षेत्रमा ओदान खसेको थियो तत्कालिन समयमा आकाशबाट पहरामा खसेको ओदानलाई धार्मिक शक्तिको रुपमा स्थानीयले परापुर्वकालदेखि पुजा गर्दै आएका छन् ।
तीन खुट्टे ओदानलाई मन्दिरसँगै विभिन्न पूर्वाधार निमार्ण गरि संरक्षण गरेका छन । ओदानडाँडा संरक्षण समितिको अगुवाईमा प्रदेश,गाउँपालिका र बागलुङबासीबाट संकलिन ६० लाख रुपैयाँ भन्दा बढी मन्दिरमा लगानी गरिएको छ ।
ओदान मन्दिरको जिर्णद्धारका साथै पक्की प्राङ्गण, शिवलिङ्ग, सत्तल, पदमार्ग, प्रवेशद्धार, पानीको फोहोरा सहितको पोखरी,तारबार तथा रेलिङ्ग लगाएका पूर्वाधार बनाइएका हुन् । सयौ वर्ष अगाडी ऐतिहासिक महत्व बोकेको ओदानेश्वर मन्दिरको विकास भएपछि दैनिक रूपमा आन्तरिक पर्यटनहरू आउने क्रम बढदै गएको छ ।