झापा । जंगली हात्ती प्रभावित झापा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व एक बढ्दै गएको छ ।
डिभिजन वन कार्यालयको रेकर्ड अनुसार २०६४ साल यता झापामा मात्र २२ वटा जङ्गली हात्ती मरेका छन् भने ७० जना बढी मानिसको हात्तीको आक्रमणमा ज्यान गएको हो । आहारको खोजीमा भारतबाट नेपाल छिर्ने हात्ती र यहाँको वनमा रहने केहि रैथानी हात्ती र मानबबीच द्धन्द हुने गरेको हो ।
मानव–हात्ती द्वन्द्वलाई कम गर्न हात्ती पर्यटन, चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणाली शुुरु गरिएको छ । सामुदायिक वनमा कटहर, बांस, केरा लगायतका बिरुवा वितरण देखि त्यस्ता बोटबिरुवा लाउन प्रेरित गर्नुका साथै आर्थिक सहुलियत भने वन कार्यालयहरुले दिने गरेका छन् ।
मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म झापामा करिब ९२ किलोमिटर विद्युतीय तारबार जडान समेत गरेको छ । जसका कारण केहि समस्या हल भएको छ तर पनि तारबारको उचित मर्मत सुधार हुन नसक्दा समस्या बल्झिंदै गएको छ ।
झापामा मात्र विगत पाँच वर्षमा आठ सय ८४ घटना दर्ता भएका छन्, जसमा सरकारले करिब चार करोड तीन लाख राहत स्वरूप वितरण गरेको छ ।