समाज

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय, सतर्कता अपनाउन आग्रह

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । 

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । सोही कारण दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याइएको छ । 

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । 

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा ठूलो पानी परेको छ । अछामको कैलाश नदी जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले त्यस नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

दार्चुला, डोटीको जिंगराना, अछामको चित्रेघाट, बाँकेको पश्चिम राप्ती, दाङको जलकुण्डी, पर्वतको पन्चासे र वरपरका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको छ । त्यस क्षेत्र भइ बहने चमेलिया नदी, बउलीगाड, कैलाश नदी, लोहरे खोला लगायत अरू स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्ने सम्भावना र्औल्याइको छ । 

यस्तै, जाजरकोटको जाजरकोट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले त्यस क्षेत्र भइ बहने स–साना खोलाहरुमा बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । काठमाडौं उपत्यकासहित देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । 

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *