काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
आज मंगलबार ११ बजे बोलाइएको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने भन्दै प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
तर सभामुख देवराज घिमिरेको कार्यकक्षमा सत्ता र प्रतिपक्षबीच भएको छलफलमा बैठक संचालनमा सहमति नजुटेपछि बुधबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।प्रमुख प्रतिपक्षीदल माओवादी सहितका विपक्षी दलहरुले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने अडान राखेका छन् ।
भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बिपक्षीको माग छ । तर कर्मचारीको दोषमा गृहमन्त्री नमुछिएको भन्दै सत्तापक्ष राजीनामाको बिपक्षमा छ ।