काठमाडौं । गृह मन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताएका छन् ।
विश्व मानवतावादी दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्ला दिनमा यस्ता प्राकृतिक प्रकोपको आवृत्ति र प्रवृत्ति झन् झन् विषम बन्दै पनि गएको र जलवायु परिवर्तनका हकमा नेपाललाई नखाएको विष लागिरहेको बताएका हुन् ।
गृह मन्त्री लेखकले विपद् तथा मानवीय संकटहरुमा स्थानीय सरकार, समुदाय, स्वयंसेवी संस्था र व्यक्तिहरु पहिलो उद्धारकर्ता हुने गरेको धारणा राखे । मन्त्री लेखकले विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरुको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताए ।
जटिल भौगोलिक विविधताका कारण पनि नेपालमा प्राकृतिक प्रकोप र मानवीय संकटहरू दोहोरिरहेको उनको भनाइ छ । भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको मन्त्री लेखकले बताए ।
सरकारले आपतकालीन तयारी, जोखिम न्यूनीकरण र पुनर्निर्माणमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा पनि राखेको उनले बताए ।