काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको अवहेलनाको मुद्दा खारेज भएको छ ।
काभ्रेको धुलिखेलमा गत वैशाख २६ गते भएको एन्फाको नियमित साधारणसभामा गणेश र गौरवलाई प्रवेशमा रोक लगाइएको थियो । यसकाविरद्ध उच्च अदालत पाटनमा अवहेलनाको मुद्दा दायर गरेकोमा उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा दाबी नपुग्ने भन्दै रिट खारेज गरेको हो ।
साधारणसभामा गणेश सुर्खेतको ‘बी’ डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि र गौरव काठमाडौं जिल्ला फुटबल संघका प्रतिनिधिका रूपमा पुगेका थिए । तर, एन्फाले सभाहल प्रवेश निषेध गर्दै प्रहरीमार्फत यी दुईलाई रोक लगाएको थियो ।
यसअघि उच्च अदालतले नै उनीहरूलाई साधारणसभामा भाग लिन रोक्नु नपर्ने आदेश दिएकोमा एन्फाले उक्त आदेशको अवज्ञा गरेको आरोप सहित अवहेलनाको मुद्दा दायर गरिएको थियो ।