काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बिहीबारदेखि चलनचल्तीमा आएको नयाँ नोट ‘सिरिज २०२५’ अन्तर्गतको हो।
आकार भने यसअघिको हजार रूपैयाँकै नोटको जस्तो छ। तर यसको रंग संयोजन र सुरक्षण विशेषतामा केही परिवर्तन गरिएको छ। नयाँ नोट पर्पल (बैजनी) रंगको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ। यसमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ।
नयाँ नोटको सङ्केत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। नोटको अगाडिको भागको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ। दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको चित्र र त्यसको मुनि ‘१०००’ अंक देखिने पानीछाप छ।
नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा नीलो रंगको सी-थ्रु रजिस्टरमा ‘१०००’ को पूरा आकृति देखिन्छ। नोटमा नक्कली बनाउन कठिन हुने गरी विभिन्न सुरक्षण प्रविधि प्रयोग गरिएको छ।
सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ। नोटलाई सिधा हेर्दा यो सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो देखिन्छ। त्यस्तै, ३।५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो राखिएको छ।
सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘एनआरबी’ र ‘१०००’ लेखिएको छ। दृष्टिविहीन व्यक्तिले छोएरै नोट पहिचान गर्न सकून् भनेर पनि विशेष व्यवस्था गरिएको छ।
नोटको दायाँतर्फ तल्लो भागमा रोमन अक्षर ‘एम’ राखिएको छ। सगरमाथा र पानीछापको दायाँ-बायाँ १०/१० वटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएका छन्। नोटको तल्लो भागमा सिरिज नम्बरका रूपमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
नोटको पछाडिको मध्य भागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र राखिएको छ।चित्रको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ।
पानीछापको दायाँतर्फ नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका फूल राखिएका छन्। नोटको दायाँतर्फ ‘रुपिज् वन थाउजेन्ट’ लेखिएको छ। त्यससँगै ऐतिहासिक हनुमानढोका दरबारस्थित ल्होंचोकमा रहेको पुरातात्विक महत्त्वको थामको आकृति राखिएको छ।
नोटको तल्लो बोर्डरमा अन्तर्राष्ट्रिय सिरिज जनाउने गरी ‘२०२५एडी उल्लेख गरिएको छ।