काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने धारणा कसैको पनि नरहेको बताएका छन् ।
सोमवार काठमाडौँमा “प्रशासनिक सङ्घीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू” विषयक कार्यक्रममा सापकोटाले यस्तो बताएका हुन् । सापकोटाले अहिलेसम्म आफूहरू औपचारिक तथा अनौपचारिक छलफल गर्दा कसैले पनि कुलिङ पिरियड हुनुहुँदैन नभनेको बताए । उनले निजामती कर्मचारीमा मात्रै कुलिङ पिरियड किन राखियो भन्ने प्रश्न उठेको स्पष्ट पारे ।
सचिव सापकोटाले भोलीका दिनहरूमा कतिपय अवस्थामा विज्ञ व्यक्ति नै नपाएको अवस्था के गर्ने ? भन्दै प्रश्न गरे । सापकोटाले अहिलेकै व्यवस्था राखे भोली विपद् भइहाले स्वास्थ्य सेवाबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने ? भन्दै प्रश्न गरे । उनले सेवाबाट अवकाश भएको सम्बन्धित क्षेत्रको विज्ञ कर्मचारी भोलीका दिनहरूमा कुनै आयोग वा परिषद्मा छोटो अवधिमा काम गर्नुपर्ने अवस्था आए प्रयोग गर्ने कि नगर्ने ? भन्दै पुनः प्रतिप्रश्न गरे । उनले विधेयकका केही विषयमा छलफल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले पूर्व प्रशासकहरूको अनुभव अमूल्य रहने बताए । उनले पूर्व प्रशासकहरूको अनुभव पुस्तक, संस्मरण आकारमा जनताले पढ्ने अवसर पाउने र त्यसबाट सुसूचित हुने पर्याप्त मौका हुने बताउँदै त्यो जारी रहनुपर्ने बताए ।