काठमाडौं । काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रुपमा रोपाइँ जात्रा मनाइने भएको छ ।
गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा साउन २६ गते भव्य रुपमा मनाउने जनाएको हो ।
यसपटक पनि हल गोरु, युवा बाउसे, युवा रोपार, वाल लाँखे, युवा लाँखे , झाँकी लगाएत विभिन्न विधामा प्रतिस्पर्धीहरुलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको रोपाइँ जात्रा आयोजक समितिले जनाएको छ ।
बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाई जात्रा घोनाई सो क्षेत्रको पहिचानका रूपमा छ । जात्राका लागि महानगरबाट यस बर्ष १५ लाख बिनियोजन गरेको छ । गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो ।
खेतपातीको कार्य सम्पन्न गरिएको खुशीयाली साथ मनाइने यो जात्रामा विभिन्न भेषभुषामा सजिएर प्रत्येक घरधुरीबाट सहभागी हुने चलन छ । बाजागाजासहित प्रत्येक घरबाट रोपाइँ जात्रामा सहभागीहरूले रोपाइँ गरिँदा गरिने अनेकन क्रियाकलापहरू जस्तै हली, बाउसे, रोपाहार आदिको अभिनय गर्दै विभिन्न झाँकीहरूसहित बौद्धस्तूप परिक्रमा गरी यो जात्रा मनाउने गर्दछन् ।
जात्रामा सहभागी हुनेहरू विभिन्न झाँकीसहित बौद्धपिपलबोटदेखि टुसालचोकसम्म पुगी पुनः बौद्धस्तुप परिसरमा फर्कने गर्दछन् ।
