काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार (आज) उत्तरी छिमेकी मुलुक चीन जाँदै छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन जान लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीलगायत सहभागी हुनेछन् ।