काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेटेकी हुन् । कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । त्यस्तै, उनले नागर्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी हुन् । शहीदका परिवारलाई भेट्न प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि गएका थिए । भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीका माग सम्बोधन गर्न आफू लागिपरेको बताएकी छन् । उनले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाउने बताएकी थिईन्।