काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताएका हुन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले त्यही छलफल हुने स्पष्ट गरे ।
अध्यक्ष ओलीले पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने दोहोर्याए ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन ।
अध्यक्ष ओलीले शनिबार दस्तावेजमाथि छलफल हुने र आइतबार सबै कार्यक्रम टुंग्याउने बताए ।