भोजपुर । आलु भोजपुरका किसानको राम्रो आम्दानीको श्रोत बनेको छ । विगतमा घरयासी प्रयोजनका लागि मात्र प्रयोग हुने आलु सडक विस्तारपछि विभिन्न ठूला शहरमा पुग्ने थालेको छ ।
आलु खेती विस्तारसँगै किसानले आयआर्जनमा सुधार गर्नुका साथै आत्मनिर्भर बन्न थालेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
किसानले उत्पादन गरेको आलु खरिद गर्न ठेकेदारहरु गाडी नै लिएर किसानको घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै आलु किसानको भरपर्दो आम्दानीको श्रोत बनेको किसानको भनाइ छ ।
किसानका अनुसार यस वर्ष गाउँघरमै आलु प्रतिकिलो ४० देखि ४५ रूपैयाँ सम्ममा बिक्री भइरहेको छ । गत वर्ष मात्रै जिल्लाभर ५१ हजार ९ सय मेट्रिकटन आलु उत्पादन भएको थियो ।