काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बर्ताैलाले सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानूनी दृष्टिले कमजोर र स्रोतसाधन विहीन नरहेको जिकिर गरे ।
वर्ताैलाले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको आपसी समझदारीको जगमा नीति तथा कार्यक्रम आएको बताउँदै यसले विद्यमान चुनौतीहरू सामना गर्दै नीतिगत स्थिरता कायम गर्ने विश्वास व्यक्त गरे ।
नीति तथा कार्यक्रम घोषणात्मक र आकर्षक शब्दहरूमा सीमित नभई, मुलुकको वास्तविकता र सीमामा आधारित रहेको बर्तौलाको जिकिर छ ।उनले सरकारको नीति तथा कार्यक्रमले देशमा नीतिगत स्थायित्व ल्याउने, दीर्घकालीन योजना कार्यान्वयनको बाटो खोल्ने र वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे ।
बर्ताैलाले प्रमुख प्रतिपक्षी दलहरुले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।