रौतहट । रौतहट सदरमुकाममा सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ ।
शव रौटहटको माधव नारायण नगरपालिका २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको हो ।
रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । केही समयदेखि उनी माइतीमै बस्दै आएकी थिइन । गौर नगरपालिका ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस फेला परेका थिए ।
प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेर्दा त्यसमा युवतीको शव फेला परेको थियो । युवतीको हत्यापछि शव सुटकेसमा राखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । प्रहरीले माईती पक्षका मानिसलाई बोलाएर थप अनुसन्धान थालेको छ ।
पोष्टमार्टमपछि मात्रै घटनाबारे थप जानकारी पाउन सकिने प्रहरीका भनाइ छ । यसै क्रममा घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज प्रहरीले अनुसन्धान गरिरहेको छ । एक साताभित्रै रौतहटमा तेस्रो पटक शव फेला परेको हो ।
यसअघि नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहार गरी हत्या भएको थियो ।