मुख्य समाचार

मुग्लिन नारायणगढ सडकखण्डमा रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

मुग्लिन नारायणगढ सडकखण्डमा रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

काठमाडौ। मुग्लिन नारायणगढ सडकखण्डमा अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ छ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको  सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो । शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको  जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ । धादिङ, तनहुँलगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको छ । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *