काठमाडौं । हिमाल हेर्दा जति सुन्दर देखिन्छन्, तिनको काखमा बस्ने समुदायका लागि जोखिम पनि उत्तिकै ठूलो छ। हिमताल फुट्ने, हिमपहिरो जाने र पहाडका ठूला चट्टान खस्ने घटनाले केही मिनेटमै बस्ती, सडक र पूर्वाधार ध्वस्त पार्न सक्छन्। तर अब यस्ता विपद् आउनुअघि नै जोखिमको संकेत पहिचान गर्न सकिने सम्भावना देखिएको छ।
वैज्ञानिकहरूले भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषण गरेर हिमाली क्षेत्रका जोखिमयुक्त भूभागमा हुने परिवर्तन पहिचान गर्न थालेका छन्।
२०८३ भाद्र १० गते लाङटाङ लिरुङ क्षेत्रमा भएको हिमपहिरो तथा चट्टान खस्ने घटनाअघि नै भूभागमा परिवर्तन देखिएको वैज्ञानिक अध्ययनले औँल्याएको छ। स्याटेलाइट राडारबाट गरिएको अध्ययनमा जुलाई ७ देखि अगस्ट २४ सम्म उक्त क्षेत्रमा जमिनको सतहमा ४० सेन्टिमिटरसम्म परिवर्तन भएको देखिएको थियो।
त्यस्तै, अक्टोबर ११ मा गोरखाको बूढीगण्डकी नदी क्षेत्रमा आएको बाढीले पनि हिमाली तथा पहाडी क्षेत्रमा विपद् जोखिमको गम्भीरता उजागर गरेको छ।
भू–उपग्रह प्रविधिले बादल लागेको र रातिको समयमा समेत जमिनको सतहमा आएको परिवर्तन अध्ययन गर्न सक्छ। यसले परम्परागत स्थलगत अनुगमनभन्दा फराकिलो क्षेत्रमा जोखिम पहिचान गर्न सहयोग पुर्याउन सक्छ।
तर भू–उपग्रहले जमिनमा परिवर्तन देखाउँदैमा पहाड कुन दिन र कुन समयमा भत्किन्छ भन्ने निश्चित गर्न सकिँदैन। त्यसैले वैज्ञानिकहरूले स्थानीय मौसम पूर्वानुमान, स्थलगत अनुगमन, जोखिम नक्साङ्कन र समुदायमा आधारित पूर्वसूचना प्रणालीलाई एकीकृत गर्नुपर्ने बताएका छन्।
नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकका लागि यस्तो प्रविधि केवल वैज्ञानिक उपलब्धि मात्र होइन, मानवीय क्षति कम गर्ने सम्भावित माध्यम पनि हो।
अब चुनौती प्रविधि उपलब्ध गराउनु मात्र होइन, त्यसबाट प्राप्त सूचनालाई समयमै स्थानीय तह, सुरक्षा निकाय र जोखिममा रहेका समुदायसम्म पुर्याउनु हो।
विपद् रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्न सकिन्छ। हिमालमा देखिने सानो परिवर्तनलाई समयमै पहिचान गर्न सके धेरै मानिसको जीवन जोगाउन सकिने सम्भावना छ।

