काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
नयाँ गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य रहेका निवर्तमान गभर्नर अधिकारी बिरुद्ध परेको रिटमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै आगामी ४ जेठमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
अधिकारी बहालमा रहेकै बेला नयाँ गभर्नर सिफारिस समितिमा उनको नियुत्ती गैर कानुनी भएको भन्दै अधिवक्ता नविन धितालले अन्तरिम आदेश माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएका थिए । तर सर्वाेच्चले भने अन्तरिम आदेश दिएन ।
रिटमा अधिकारीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ । गत २५ चैतदेखि अधिकारीको कार्यकाल सकिने भएपछि सरकारले राष्ट्रबैंकमा नयाँ गभर्नर चयनगर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो ।
सो समितिमा राखिएका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले १७ वैशाखमा अधिकारीलाई नियुक्त गरेको थियो ।