बागलुङ । बागलुङको ढोरपाटन उपत्यकामा यतिबेला ढकमक्क फुलेका वनफूलले ढाकिएको छ ।
राता, पहेँला, बैजनी, गुलाबी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ । खास गरी बर्खाको समयमा फुलेका वनफूलले ढोरपाटनको सुन्दरतालाई बढाएको छ ।
एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटकको संख्या निक्कै कम हुने गरेकोमा पछिल्लो समय वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो याममा दैनिक २०० बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् ।
फूलसँग रमाउन आउने पर्यटकको संख्या बढेपछि ढोरपाटन उपत्यकामा संचालित होटल व्यवसायसमेत फस्टाउन थालेका छन् । तर, जथाभावि गाडी दौडाउँदा र किसानले पाटनबाट गोबर उठाएर लैजाँदा फूल मासिने जोखिम भने बढेको छ ।
स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूल लगायत नाम दिएको छ । फूलसँग रमाउने पर्यटकका कारण ढोरपाटन उपत्यकाका फाँटहरुमा चहलपहल बढेको छ ।