समाज

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज हर्षोउल्लासका साथ ओल्के पर्व मनाइँदैछ । 

ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । 

यसका साथै बिहानै नुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्के अर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको छ । 

आजको दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ । धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छ भने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । 

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँछ । यसैबीच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *