काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका कारण नेपालका बिभिन्न कारागारबाट भागेका कैदीमध्ये ८ हजार ८१६ जना अझै फरार रहेको भन्दै उनीहरुलाई तत्काल सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार देशका २७ वटा कारागार र नौ वटा बालसुधार गृहबाट १४ हजार ५ सय ५० जनाभन्दा बढी कैदीबन्दी भागेकोमा अहिले ५ हजार ४९५ र बालसुधारगृहबाट भागेका २४४ कैदीबन्दी फिर्ता आएका हुन् ।
अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेको र उनीहरुको खोजी जारी रहेको विभागले जनाएको छ । ती बाहेक नेपाल प्रहरीको बिभिन्न बृत्तको हिरासतमा रहेका अभियुक्तहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
जेन-जीको आन्दोलनमा क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने नख्खु कारागारबाट निस्केपछि नख्खु लगायत देशका बिभिन्न जिल्लाका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए ।