काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति भएका २७ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।
सर्वोच्च अदालतमा बुधबार (आज) आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको थियो । जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानून व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए ।
यस्तै, न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन् ।
