काठमाडौं । नवनियुक्त अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (आज) पदभार ग्रहण गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी शुक्रबार पदभार ग्रहणको तयारी भए पनि ढिलो सपथग्रहण भएका कारण आज पदभार ग्रहण गर्ने जनाएको हो ।
शुक्रबार राति सपथग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी थिईन् । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए । नवनियुक्त प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक छलफल गरिरहेकी छिन् ।
कार्कीले छलफल मार्फत नामावली टुंगो लगाउने र आज मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । शनिबार रातिसम्म पनि मन्त्रीहरुको टुंगो लाग्न सकेको छैन । जेनजीको समूहले अन्तरिम सरकारका मन्त्रीहरु भोटिङ प्रक्रियाबाट छानिने र मन्त्रिपरिषद् सानो आकार हुने दाबी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए । उनले नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते चुनावको मिति तोकेका थिए ।
