म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने निउरो र निगालोको टुसा बजारका उपभोक्ताको रोजाईमा पर्न थालेको छ ।
केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निउरो बिक्री हुन थालेपछि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आम्दानीको स्रोत बनाउन थालेका छन् ।
सडक यातायात र ढुवानीको सुविधा भएपछि निउरो, च्याउ, टुसा र ढकायोले बजार पाउन थालेको हो । बेनी, बागलुङ, कुश्मा र काठमाडौंका उपभोक्ताले गाउँका ताजा र अर्गानिक तरकारी रुचाएका हुन् ।
दोवा, दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले यात्रुका साथै च्याउ, टुसा र निउरो बोकेर ल्याउने गरेका छन् । डौडे, च्याउ र टुसा जैविक तरकारी हुन् । पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले शहरबजारमा बस्नेहरुले जैविक तरकारी रुचाएका हुन् ।