कृषि

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि मन्त्री अधिकारी

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषि मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । 

श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए । 

मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उनले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्‍याउने  कार्यमा  नेपाल प्रतिबद्घ रहेको उल्लेख गरे । 

“जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन् बढाएको उल्लेख गर्दै यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ”, मन्त्री अधिकारीले भने।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरुबीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गरे । श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिमपूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ  ।

रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *