काठमाडौ । गैर–राजनीतिक गैर–सरकारी संस्थाको रुपमा स्थापना भएको राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले नेपालमा दिगो शान्तिका लागि निजी क्षेत्रको भूमिका र क्षमतालाई सुदृढ पार्न सरकारलाई सुझाव दिँदै आएको छ । सफल समाजविना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसाय विना समाज सफल बन्न सक्दैन भन्ने मूल मन्त्र लिएको एनबीआईले न्यायपूर्ण सामाजिक–आर्थिक विकासमार्फत नेपालमा दिगो शान्ति प्रवद्र्धनमा पहल गरिरहेको छ ।
गत भदौ २३ र २४ गतेको नव युवाहरु (जेनजी)को आन्दोलन र त्यसपछि विकसित घटनाक्रमले देशको व्यवसायिक वातावरणमा पारेको प्रभाव र अनिश्चिततालाई सम्बोधन गर्दै एनबीआई निजी क्षेत्रलाई एकजुट, जिम्मेवार र राष्ट्र निर्माणमा थप सक्रिय बनेको छ । शान्ति विना समृद्धि सम्भव छैन, र समृद्धि विना शान्ति स्थायी रहँदैन भन्ने विश्वासको साथ एनविआईले अहिलेको राजनीतिक अनिश्चितता, आर्थिक मन्दी र सामाजिक असन्तुलनले व्यवसायिक वातावरणमा चुनौती थपिएको बताएको छ ।
शान्ति र समृद्धिका लागि ऐक्यबद्धता व्यक्त गर्न एनबीआईले चार मुख्य अवधारणा बोकेको छ । पहिलो शान्ति निर्माण र द्वन्द्व न्यूनीकरण, दोस्रो दिगो व्यावसायिक अभ्यास, तेस्रो अनुकूल व्यावसायिक वातावरण र चौथो आर्थिक अवसर र समावेशी वृद्धि रहेका छन् । यही अवधारणामा एनबीआईले राष्ट्रिय संकट समाधानका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
एनबीआईले नेपालमा शान्ति र समृद्धिका लागि ऐक्यबद्धता व्यक्त गर्न द्वन्द्व न्यूनीकरणदेखि जिम्मेवार व्यावसायिक अभ्यासको प्रवद्र्धन गर्ने र राष्ट्रिय आर्थिक एजेन्डामा सरकार र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याउने कार्य गर्दै आएको छ । चाहे त्यो संकटको घडी होस् या दिगो विकासको मार्गचित्र, एनबीआईले निजी क्षेत्र र आम समूदायबीच साझा संकल्पको आवश्यकतामा निरन्तर जोड दिँदै आएको छ । यसरी राष्ट्रिय व्यावसायिक पहलले शान्ति र समृद्धिको साझा लक्ष्य प्राप्त गर्नका लागि जिम्मेवारी र सहकार्यको अपरिहार्यतालाई राष्ट्रिय संवादको केन्द्रमा राखेको छ ।
