मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ स्थित शितोष्ण बागवानी विकास केन्द्रले गोलभेडा उत्पादन र बजारिकरणमा सहयोग गर्न थालेको छ ।
केन्द्रमा उत्पादन हुने दर्जनौं बढी तरकारी मध्य गोलभेडा प्रमुख आम्दानीको स्रोत भएको र बिक्रीवितरण गर्न पनि अत्यन्तै सहज हुने भएकोले गोलभेडा उत्पादनलाई केन्द्रले विशेष चासोका साथ हेरेको हो ।
केन्द्रले अहिले श्रृजना जातको गोलभेडाको परीक्षण गरिरहेको छ । विशेष गरि २० देखि ३० डिग्री सेल्सियससम्म तापक्रममा फल्ने यो जातको गोलभेडा बर्खामा मुस्ताङको घरपझोङ, वारागुंङ र थासाङ गाउँपालिका क्षेत्रहरू सहजै तरिकाले उत्पादन हुने अपेक्षा प्राविधिकको छ ।
केन्द्रले आइतबार र बिहिबार गोलभेडा मुस्ताङ स्थित होटल व्यवसायी, किराना व्यापारी र तरकारी व्यापारीलाई बेच्दै आएको छ । केन्द्रमा हालसम्म तरकारीबाली, फलफुल र नगदेबालीलाई समेत प्राथमिकतामा राखेको छ ।
केन्द्रले विभिन्न जातका तरकारीको बीउ उत्पादन, प्रशोधन र बिक्रीवितरण समेत गर्दै आएको छ । जसमा गोलभेडा, रायो चैडा पात, गाजर, मुला, बन्दा, काउली र स्याउको बीउ उत्पादन गर्ने गरेको छ ।