काठमाडौं । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एकै परिवारका ३ जनाको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हत्या हुनेमा एक आमा सहित दुई बच्चा रहेका छन् । पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र दुई छोरीहरू स्नेहा र हिमानीको हत्या गरेका हुन् ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजनले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ । हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।
स्वास्थ्यकर्मीका रुपमा दीपा कार्यरत थिइन् । सुजनसँग सम्बन्धविच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए ।