काठमाडौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । सोमबार सपथ ग्रहणपछि मन्त्रालय पुगेर मन्त्री पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । गृहमन्त्री अर्यालले निधन भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने, आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पु¥याउने निर्णय पनि गरेका छन् । उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रीत हुने भन्दै दलहरुलाई प्रतिवन्ध गराउने कुनै योजना नरहेको पनि स्पष्ट पारे ।
मन्त्री अर्यालले निर्वाचनबाट आउने परिणामलाई सवैले स्वीकार गर्नुपर्ने बताए । उनले युवाहरुले पनि अव आफ्नो आन्दोलनको पुष्टि लोकतान्त्रीक प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए । मन्त्री अर्यालले आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कनका साथै छानविन हुने स्पष्ट पारे । त्यसअघि मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए । गृहमन्त्री अर्याललाई कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।