समाज

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । 

बुधबार विभागले ललितपुरमा आयोजना गरेको राष्ट्रिय मनसुन फोरममा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् । विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने जानकारी दिइन । 

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन । 

१२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने भएकाले पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने मौसमविदको भनाइ छ । 

मौसमविदले यो वर्ष देशभरका स्थान अनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना औल्याएका छन । यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना औल्याइएको छ । तापक्रम पनि स्थान अनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने मौसमविदको भनाइ छ । 

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *