एजेन्सी । इजरायली आक्रमणपछि अरब र इस्लामिक देशका विदेशमन्त्रीहरूको बैठक कतारको राजधानी दोहामा सुरु भएको छ । आपतकालीन अरब–इस्लामिक शिखर सम्मेलनको तयारीका क्रममा आज बैठक बस्न लागेको हो । मंगलबार इजरायलले दोहामा रहेको एउटा घरलाई निशाना बनाउँदै त्यहाँका हमास नेताहरूलाई आक्रमण गरेपछि अरब–इस्लामिक देशहरू आक्रोशित भएका छन । कतारका प्रधानमन्त्री तथा अर्थमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई कतारमाथि भएको हवाई आक्रमणको जिम्मेवार इजरायललाई ठहराउन आग्रह गरेका छन । अरब लिगले दोहाको बैठकबाट अरब–इस्लामिक एकताको स्पष्ट सन्देश जानुपर्ने उनको भनाइ छ । बैठकमा कतारको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनबारे छलफल हुनेछ । क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि साझा रणनीति बनाउन प्रयास गरिने बताइएको छ । बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बुझिएको छ।