काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि जारी रहने भएको छ ।
सोमबारदेखि लतिलपुर सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक शुुरु भएको हो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसिरहेको बैठकको पहिलो दिन उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महामन्त्री गगन थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए । उनले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सोमबारको बैठकमा नेता शेखर कोइरालाले विभिन्न विषयमा सभापति शेरबहादुर देउवा र सिंगो पदाधिकारीहरूलाई प्रश्नै प्रश्न राखे र जबाफ माग गरेका थिए । साथै कोइरालाले २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
अनुशासन समिति बैठकमा सभापति देउवाले आफूमाथि कारबाहीको कुरा गरेको समेत उल्लेख गर्दै उनले केका आधारमा मलाई कारबाही गर्ने कुरा आयो भनेर समेत प्रश्न उठाएका छन् ।