काठमाडौ। अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उहाँको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद्को भनाइ छ । यसैविच बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै ठूलो पानी परेको छ । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुरमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा तीन सय ५६ मिलिमिटर पानी परेको छ । निरन्तर र ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका अरू जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न ठाउँका नदी खोलामा बाढी आएको छ । बस्तीहरु डुबानमा परेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित ठाउँमा सारेका छन् ।