काठमाडौं । उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या भएको छ ।
तीन पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रमा खाद्यान्न अभाव भएको हो ।
गत आर्थिक वर्षमा बाँडिएको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले खाद्यान्न अभाव भएको बताइएको छ । व्यापार कम्पनीले प्रति २५ किलो चामललाई २ हजार २१९ मा बिक्री गर्ने जनाउँदै बाहिरबाट खरिद गर्दा ४ हजार ५०० सम्म पर्ने गरेको शेफोक्सुण्डो गाउँपालिकाकाले जनाएको छ ।
दशैं, तिहार जस्ता पर्वमा चामल अभाव हुँदा समस्या भएको छ । मङ्सिरभित्र खाद्यान्न ढुवानी नभए उपल्लो डोल्पामा ठूलो खाद्यान्न सङ्कट निम्तिने बताइएको छ । हिँउदयाममा हिमपात हुने भएकाले असोजको अन्तिम सातासम्ममा चामल ढुवानी हुनुपर्नेमा देखिन्छ ।
उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका पर्दछन् । चीनसँग सिमाना जोडिएका यी पालिकामा खाद्यान्न ढुवानी गर्न समस्या हुँदै आएको छ ।