काठमाडौं । मनसुन सक्रिय भएसँगै मंगलबार रातिदेखि देशैभर वर्षा भएको भएको छ ।
कोशी प्रदेशको झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको छ । ६ घण्टामा झापामा ८० दशमलव ४ मिलिमिटर, उदयपुरमा पनि ६६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
पानीको सतह बढ्दै जाँदा सुनसरीको सार्दु खोला र इलामको माई खोला सतर्कता तह पार गरिसकेका छन् । झापाको अनारमनी बिर्तामा ठूलो वर्षा भएपछि स–साना खोलामा बहाव बढेको छ । नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको डोटीमा पनि ठूलो पानी परेको मौसम विभागले जनाएको छ । इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
आजपनि मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।