बर्दिया । बर्दियामा उत्पादन हुने केराको लागि बजार व्यवस्थापन नहुँदा किसानहरु लागत अनुसारको बजार मुल्य प्राप्त नहुँदा निराश हुँदै गइरहेका छन् ।
नजिकिदै गइरहेको चाडपर्वमा भारतीय केराहरु ठूलो मात्रामा आयात हुँदा नेपाली केराले बजार नपाएके हो । बजार नपाएपछि केरा खेतीगर्ने किसानहरुले न्यून मूल्यमा केरा बेच्न बाध्य भएको किसानहरुले दुखेसो छ ।
बर्दिया जिल्लामा केरा खेतीबाट वार्षिक ४० करोडको कारोबार हुने गरेको केरा किसानहरु बताउँछन् । बर्दिया जिल्लामा १५ हजार मेट्रिक टन केरा उत्पादन हुने भएता पनि उचित बजार सरकारले ब्यवस्थापन नगर्दा किसान मर्कामा पर्नुका साथै कृषि विमामा पनि सरकारले ध्यान नदिएका कारण पनि समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
बर्दियामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ५ सय हेक्टर क्षेत्रफलमा करिब ७ सय घर परिवार केरा खेतीमा संलग्न रहेका छन् । जसमध्ये करिब ४ सय हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने किसान गुलरिया नगरपालिकाका रहेका छन् ।